दफा ५११
सर्वसाधारण समक्ष राखिएको प्रस्ताव बमोजिमको करार

(१) कुनै व्यक्तिले सार्वजनिक रूपमा विज्ञापन गरी त्यस्तो विज्ञापनमा उल्लिखित कुनै काम गरेमा यति पारिश्रमिक दिनेछु भनी सार्वजनिक रूपमा प्रस्ताव राखेकोमा त्यस्तो विज्ञापन बमोजिमको काम गर्ने व्यक्तिलाई त्यस्तो विज्ञापन प्रकाशित गर्ने व्यक्तिले विज्ञापनमा उल्लिखित पारिश्रमिक दिनु पर्नेछ ।तर विज्ञापनमा उल्लिखित काम त्यस्तो विज्ञापनको जानकारी विना गरेको रहेछ भने त्यस्तो व्यक्तिले पारिश्रमिक पाउने छैन ।
(२) उपदफा (१) बमोजिमको प्रस्तावमा उल्लिखित काम एक वा एकभन्दा बढी व्यक्तिले गरेमा जुन व्यक्तिले पहिले त्यस्तो काम गरेको छ सोही व्यक्तिले मात्र पारिश्रमिक पाउनेछ । तर दुई वा दुईभन्दा बढी व्यक्तिहरूले एकै समयमा प्रस्तावमा उल्लिखित काम गरेमा त्यसरी काम गर्ने प्रत्येकले पारिश्रमिक बराबर बाँडी लिन पाउने छन्र पारिश्रमिक बाँड्न नमिल्ने रहेछ भने त्यस्तो बिक्री गरी आएको रकम त्यस्ता व्यक्तिहरूलाई बराबर बाँडी दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम प्रकाशित विज्ञापन बमोजिम गर्नु पर्ने कामको लागि निश्चित समयावधि तोकिएको रहेछ भने त्यस्तो समय समाप्त हुनासाथ विज्ञापन बमोजिमको प्रस्ताव रद्द भएको मानिनेछ ।
(४) उपदफा (१) बमोजिम राखिएको प्रस्ताव जुन माध्यमद्वारा प्रकाशित भएको हो, सोही माध्यमद्वारा रद्द गर्न सकिनेछ ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रस्ताव रद्द गरेको सूचना प्रकाशित हुनु अगावै कसैले उपदफा (१) बमोजिमको विज्ञापन अनुसार काम गरिसकेको भएमा विज्ञापनमा उल्लिखित पारिश्रमिक दिनु पर्नेछ । तर विज्ञापन बमोजिम काम गर्ने व्यक्तिले विज्ञापनदातालाई यथासम्भव छिटो काम सम्पन्न भएको सूचना गरेको हुनु पर्नेछ ।
(६) कसैले विज्ञापनदातालाई उपदफा (१) बमोजिमको विज्ञापन अनुसार काम शुरु गरेको कुरा सूचना गरी काम शुरु गरेको रहेछ भने त्यसरी काम गर्ने व्यक्तिलाई विज्ञापन रद्द हुँदासम्म गरेको कामका लागि उचित पारिश्रमिक दिनु पर्नेछ ।